काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो ।
विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
कार्यक्रमलाई उपसभापति डा।स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्नेछन् । पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वापले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।