काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दानमा दिएको जग्गा विरुद्ध दायर रिटमा सोमबार पनि पेसी तोकिएको छ। सोमबार गोलाद्वारा न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको हो ।
२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन । सोमबार पनि सुनुवाई हुने संम्भावना न्यून रहेको छ ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान दिएका थिए । उक्त जग्गामा प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासमा बिहीबार सुनुवाइका लागि एकल इजलासमा अन्तरकालीन आदेश जारी गरेको थियो ।