मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ उन्मुक्ति, अन्य ११ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पर्याप्त आधार, प्रमाण नदेखिएकोले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो । यहि प्रकरणमा पक्राउ परेका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

अधिकारीले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाउँदै पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिइएको हो ।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको प्रमाण भेटिएको थियो । मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनार रहेका छन् ।

त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेत पक्राउ परेका थिए ।

पछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पूर्वमन्त्री अधिकारीलाई २५ कात्तिकमा विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज