काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले सार्वजनिक रूपमा नेताहरुले गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश गरेको छ । बुधबार न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका थिए। रिटमा अधिवक्ता भट्टराईले अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख गरेका छन् । यसका साथै अदालतको अवहेलना निवेदनमा सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन चर्काउँदा अदालतको जनआस्थामा असर पर्ने गतिविधी गरेको दाबी गरिएको थियो ।
सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो । सर्वोच्चले अदालतले यो विषयलाई गम्भीर रूपमा लिएको छ । त्यसैले अदालतले आदेशमा भिडियोमा नेताहरुले भनेका कुरा उतार गरेर समेत पेस गर्न समेत भनेको छ ।
अधिवक्ता भट्टराईले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, तोसिमा कार्की, सुमना श्रेष्ठ, सोविता गौतम, विराजभक्त महर्जन, असिम शाह, अशोककुमार चौधरी, गणेश पराजुली लगायतलाई विपक्षी बनाइएका छन् ।