काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा भ्रष्टाचारी ठहर गरेका ओमविक्रम राणाको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो । आदेशको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।
२०७४ बैशाख १७ गते सर्वोच्च अदालतले सुडान भ्रष्टाचारमुद्दाको फैसला गर्दै राणा लगायतलाई कसुरदार ठहर गरेको थियो । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले राणालाई दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेको थियो । अख्तियारको उक्त पत्र पछि राणाको पेन्सन रोकिएको थियो । पेन्सन रोकिएपछि यसका विरुद्ध राणाले २०८१ साउन १७ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।