काठमाडौं । पर्सामा ४५ वटा प्रश्न साेधेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान एकै दिनमा सकिएको छ । ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।
तर, पर्सामा एकैदिनमा बयान सकिएको छ । पर्साका जिल्ला न्यायाधीवक्ता भोलाराथ निरौलाका अनुसार, सोध्नुपर्ने प्रश्नहरू पहिल्यै भएको र मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका छन् । यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।
पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो ।
त्यसको सुरुवात्मा परिचय खण्ड थिए भने अन्यमा मुद्दासँग सम्बन्धित विषय थिए । उनलाई पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । न्यायाधीवक्ता निरौलाका अनुसार, यो सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।
तर, अनुसन्धानका बखत खुलेको अवस्थामा थपलाई पनि मुद्दा चलाउन मिल्ने प्रावधान अनुसार लामिछाने छानबिनमा तानिएका थिए ।
यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।
मुख्य आरोपी जीबी राई भने हालसम्म फरार छन् । प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान लिएको थियो ।
लामिछानेलाई प्रहरीले २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा लगेको थियो ।
संगठित सहकारी ठगीको कसुरमा मात्र भए लामिछाने लगायतको अनुसन्धान प्रतिवेदन यतिबेला प्रहरीले सरकारी वकिल कहाँ बुझाइसक्नु पर्थ्यो ।
तर, अहिले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐनविपरीतको कसुरमा अनुसन्धान भइरहेकाले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने स्थिति छ । यद्यपि, पर्सामा बयान भएपछि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रतिवदेन बुझाउने अन्तिम तयारीमा प्रहरी
रास्वपाका सभापति लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान मंगलबार एकैदिनमा सकिएको छ । र, भोलि ९बुधबार० जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको छ ।
‘९० दिनभित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्नेमा स्थिति छ, तोकिएकै अवधिमा प्रतिवेदन बुझाइसक्ने गरी प्रहरीले काम गरिरहेको छ’, उनले भने । रास्वपा सभापति लामिछाने ५४ दिनदेखि प्रहरी हिरासतमा छन् ।
तर, एउटै मुद्दामा एक महिनाअघि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान हुँदा यथाशिघ्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने स्थिति छ । जोशीलाई प्रहरीले लामिछानेभन्दा एक महिनाअघि ६ असोजमा पक्राउ गरेको थियो ।
‘अनुसन्धानका निश्चित समय सीमा हुन्छ, त्यो सीमा सकिन लागेका बेला अनुसन्धान प्रतिवेदन तयार गरेर छिटो बुझाउने प्रहरीलाई दबाब हुन्छ’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले पनि भने, ‘यस्तोमा अनुसन्धान प्रतिवेदन बनाउने तयारी हुन्छ भने थप व्यक्तिमाथि अनुसन्धान गर्न बाँकी रहँदा फौजदारीसंहिता अनुसार पछि खुलेका अवस्थामा फेरि अनुसन्धान गर्ने गरी फाइल अघि बढाइन्छ ।’
जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकृतले पनि लामिछानेमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्याइएको जनाएको छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको छ ।