काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राखिएको अवस्थामा मानवअधिकार हनन भएको भन्ने उजुरीको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले शुरु गरेको छानबिनमा नसघाएको भन्दै आयोग असन्तुष्छ बनेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आयोगको बोलावटमा अनुपस्थित भएपछि आयोग असन्तुष्ट बनेको हो।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशमा अमानवीय व्यवहार भएको भन्ने उजुरीको सत्यतथ्य बुझ्न आयोगले कुँवरलाई बोलाएको थियो। यस विषयमा छलफलका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको नेतृत्वमा केही उच्चपदस्थ प्रहरी अधिकारी आयोग पुगेका थिए। तर, आयोगले उनीहरूसँग गरेको छलफलबाट सन्तुष्ट हुन सकेन।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार, यस विषयमा निष्कर्षमा पुग्न थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तरता दिएको छ। आयोगले प्रहरी महानिरीक्षकलाई पुनः बोलाउने तयारी गरिरहेको छ।
लामिछानेमाथि भएको भनिएको दुर्व्यवहारको घटनालाई लिएर आयोगले गत सातादेखि अनुसन्धान गरिरहेको छ। मध्यरातमा कास्की लगिएको क्रममा लामिछानेलाई दुर्व्यवहार गरिएको भन्ने उजुरीपछि आयोगले यो घटनाको गम्भीरतालाई मध्यनजर गर्दै अनुसन्धान थालेको हो।