काठमाडौं । एक महिना प्रहरी हिरासतको बसाईपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै प्रसाईं रिहा भएका हुन । उनले आफूलाई अदालतले न्याय गरेको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट रिहा भएका हुन् ।
रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।
उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए । ‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ प्रसाईंले भने ।
उनलाई सञ्चारकर्मीले आज कमजोर देखिनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा भनेका छन्, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो ।’
उनले अघि भनेका छन्, ‘म हारेको छैन । यो मैले जितेको हो ।’ प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।