काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै लामिछानेलाई पदबाट निलम्बन गरिएको जानकारी दिएको हो।
सचिवालयको सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र दफा २२ अनुसार मुद्दा दायर भएको अवस्थामा, मुद्दाको किनारा नभएसम्म सम्बन्धित कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बित मानिन्छ।”
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेविरुद्ध कास्की जिल्लाको सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण, संगठित अपराध, र सहकारी ठगीसम्बन्धी तीनवटा मुद्दा दायर गरेको थियो।
नेपालको संविधानको धारा १०३ अनुसार, कुनै प्रतिनिधिसभा सदस्य फौजदारी अभियोगमा पक्राउ परेमा सो जानकारी सभामुखलाई तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार कास्की प्रहरीले आइतबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। पक्राउपछि जिल्ला प्रहरी कार्यालयले सो घटनाबारे सार्वजनिक जानकारी दिएको थियो। त्यसपछि संघीय संसद् सचिवालयले रवि लामिछानेको सांसद पद निलम्बन भएको घोषणा गरेको हो। यो निलम्बन मुद्दा टुंगो लाग्दासम्म कायम रहनेछ।