पोखरा । सहकारी ठगीको कानूनी कठघरामा उभिन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी ((रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले विहिबार एकै दिनमा १९ वटा प्रश्नसहित बयान लिएको छ । उनको बयानबाट थप स्पष्ट हुन अदालतले शुक्रबारलाइ थप प्रश्नावली तयार परेको छ ।
कात्तिक २ गते पक्राउ परेपछि उनको बयान सुरु भएको भएको । उनले प्रहरी हिरासतदेखि कानूनी कठघरासम्ममा इन्कारी वयानमात्रै दिँदै आएका छन् । लामिछानेले विहीबारदेखि कास्की जिल्ला अदालतमा सुरु भएको बयानमा पनि इन्सकारी बयान नै दिएका छन् ।
सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा बयानका लागि लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतको इजलासमा उपस्थित गराइएको थियो । विहीबार रविलाई सोध्नका लागि २६ वटा प्रश्न तयार पारिएका छन् । बिहीबार ११ वटा प्रश्न सोधियो । तिनैमध्येका एक प्रश्नको जवाफ दिँदै यस्तो इन्कारी बयान दिएका हुन् ।
उनलाइ स्वास्थ्य अवस्था ठीक छ ? भन्न प्रश्नबाट बयान सुरु गरिएको थियाे । त्यसपछि सूर्यदर्शन सहकारीमा सेयर सदस्य हो कि होइन ? ऋण लिएर मिलान गरेको हो कि होइन ? सहकारीको पैसा समूह मिलेर गोर्खा मिडियामार्फत अपचलन गरेको हो कि होइन ? संगठित रूपमा जीबी राईसँग संलग्नता हो कि होइनजस्ता प्रश्न उनलाई सोधिए ।
सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएको र काटिएको चेकबारे पनि उनलाई प्रश्न सोधिएको एक अधिवक्ताले जानकारी दिए ।
सूर्यदर्शन सहकारी आफूले देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र सेयर पनि नभएको इन्कारी बयान रविले दिए । सूर्यदर्शनबाट पाँच करोड रुपैयाँ गोर्खा मिडियामा गएको विषयमा पनि उनले इन्कारी बयान नै दिएका छन् ।
‘गोर्खा मिडियामा कहाँ–कहाँबाट कसरी पैसा आयो ? कसरी खर्च भयो ? भन्ने गितेन्द्रबाबु (जीबी) राईले दिनुपर्ने प्रश्नको जवाफ मैले कसरी दिऊँ श्रीमान ?,’ रविको प्रतिप्रश्न थियो, ‘लेखा परीक्षण प्रतिवेदनमा सहकारीसँग ऋण लिएको कतै उल्लेख छैन । सबै काम कार्यकारी अध्यक्ष तथा लगानीकर्ता जीबी राईको निर्देशनमा हुन्थ्यो भने कम्पनी कसरी चलेको छ, पैसा कहाँबाट आएको छ भन्ने मलाई कसरी थाहा हुन्छ श्रीमान् ?’
टिभी खोलेका जीबीले कहाँबाट पैसा ल्याए, सहकारीबाट ल्याए कि अन्यत्रैबाट ल्याए भन्ने उनैले जान्ने विषय भएको भन्दै रविले आफू त्यसमा संलग्न नै नभएको बारम्बार जिकिर गरे ।
सूर्यदर्शन सहकारीबाट आफूले कुनै ऋण नलिएको, मिलान नगरेको, कुनै चेक पनि नकाटेको र सहकारीको पैसा ल्याउन समूह मिलेर कुनै सहमति, सम्झौता पनि नभएकाले संगठित अपराधको मुद्दा लगाउने आधारसमेत नभएको रविको भनाइ थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएर त्यसैका आधारमा तयार पारिएको प्रश्नमा रविले सबै इन्कारी बयान दिएका हुन् । लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रविसहित सातजनालाई बिहीबार अदालत उपस्थित गराइएको थियो । अहिलेसम्म पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको अभियोगमा लिला पछाइँको बयान भइसकेको छ ।
शुक्रबार पनि निरन्तर रविकै बयान हुने छ । अदालतका अनुसार शुक्रबार रविको मात्र बयान हुन सक्ने र त्यसपछि आइतबार फेरि बयानको निरन्तरता हुन सक्ने देखिएको छ । अहिले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसांसदसमेत रहेकी पूर्वसञ्चालक समिति उपाध्यक्ष मीना गुरुङ र उनकै बाबु तथा पूर्वसञ्चालक सदस्य कृष्णबहादुर गुरुङको बयान हुने क्रममै छ ।