नागार्जुनका मेयरविरुद्ध ९ करोड भ्रष्टाचार र १३ करोड सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा आयोगले प्रमुख बस्नेत विरुद्ध आइतबार भ्रष्टाचारमुद्दा दायर गरेको हो । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।

अख्तियारको आरोपपत्रमा उल्लेख भएअनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको छ । उक्त हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत प्रमुख बस्नेतले आफ्नो बैंक खाता मार्फत २ करोड १५ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । बाँकी ६ करोड ८२ लाख रुपैयाँ बस्नेतकी पत्नी उर्मिलाको खातामा जम्मा भएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारले गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भन्दै प्रमुख बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अर्को मुद्दा समेत दायर गरेको छ ।

यसका साथै अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
अख्तियारले मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज