काठमाडौं । संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने पहलकर्ता तोकेको छ ।
मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बरालसहितको बैठकले संसदीय विषयगत समितिमा विचाराधीन विधेयक अगाडि बढाउन फोकल पर्सन तोकेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका विधेयकबारे छलफल र समन्वय गर्ने जिम्मेवारी सांसद रघुजी पन्तले पाएका छन् ।
राज्य व्यवस्था समितिमा चार वटा विधेयक छ । संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।
अर्थ समितिमा रहेका विधेयकहरूमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्य थापाले पाएका छन् ।
अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ ।
कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ । यो विधेयक अगाडि बढाउने भूमिका खेल्ने जिम्मेवारी एमालेबाट सांसद नैनकला थापाले पाएकी छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ ।
विद्यालय तहको शिक्षामा कुन तहको अधिकार क्षेत्र कति र निजी क्षेत्रबाट सञ्चालित विद्यालयको विषयलाई लिएर विद्यालय शिक्षा विधेयकमाथि बहस भइराखेको छ ।
यी लगायतका विषयमा छलफल गर्ने र दुवै पास गराउन भूमिका खेल्ने जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाएका छन् ।
पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक छ । यो विधेयकलाई पास गर्ने गरी अगाडि बढाउने जिम्मेवारी एमाले सांसद गोकर्ण विष्टले पाएका छन् ।