टीकापुर नगर विकास समितिको जग्गा भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु

काठमाडौँ । विशेष अदालतले कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले २४९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दालाई नियमित सुनुवाइ गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ माघ २०८० मा समितिका अध्यक्षहरू, पदाधिकारीहरू, कर्मचारीहरू र जग्गा प्राप्त गर्ने व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई नक्कली रसिद बनाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप लागेको छ। दायर मुद्दामा १४ जना टीकापुर विकास समितिका पदाधिकारी, ११० जना जग्गाधनी र ७ जना निधन भइसकेका व्यक्तिहरू छन्।

टीकापुर विकास समितिको नाममा नक्कली कागजात तयार गरी समितिको जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरिएको भन्दै अख्तियारले भ्रष्टाचार भएको आरोप लगाएको थियो। यस प्रकरणमा २० करोड ५१ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ।

यसअघि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्ते सम्बन्धी अनुसन्धान सुरु गरेको थियो। टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियारले २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा राजनीतिक पहुँच भएका व्यक्तिहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ। तर, अख्तियारले उनीहरूलाई प्रतिवादी बनाएको थिएन। विशेष अदालतले अब यस मुद्दाको नियमित सुनुवाइ गर्दै दोषी ठहर भएमा सम्बन्धित व्यक्तिहरूलाई कानूनी कारबाही गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज