काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३८ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी परिसर, काठमाडौंले सिफारिस गरेको छ।
प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ।
यो सहकारी प्रकरणमा सुरुमा ४४ जनाविरुद्ध मुद्दा दर्ता तयारी भए पनि थप अनुसन्धानपछि ३८ जनालाई मात्रै प्रतिवादीको सूचीमा राखिएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा रवि लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, र कुमार रम्तेल लगायतलाई प्रतिवादी बनाइएको छ। लामिछाने, जोशी, रम्तेल र राईविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो मागदाबी गरिएको छ।