शपथ लिँदै गर्दा पक्राउ परेका डाक्नेश्वरीका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग गर्दै दुई मुद्दा दर्ता

काठमाडौं। शपथ लिँदालिँदै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध ५७ वर्ष कैद सजाय मागदाबी गर्दै दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा साहलाई प्रतिवादी बनाउँदै बलात्कार र कर्तव्य ज्यान तथा अपहरण गरी व्यक्ति बेपत्ता पारेको कसुरमा जिल्ला अदालत सप्तरीमा मुद्दा दर्ता गरेको हो ।

गत मंसिर २० गते वडाध्यक्षमा निर्वाचित भएर सपथ लिँदै गर्दा उनी पक्राउ परेका थिए । साह सहितको समूहले सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेका उनका भाइ १३ वर्षका नितिशकुमारलाई अपहरण गरी बेपत्ता बनाएको उनलाई आरोप छ।

साहविरुद्ध बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको १० वर्ष सजाय मागदाबी गरिएको छ । त्यसैगरी सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम उनीविरुद्ध थप १५ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा समेत जन्मकैदको सजाय मागदाबी गरिएको छ । बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।

त्यसैगरी उनलाई नाबालक नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेका आरोपमा मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । वेपत्ता पारिएका व्यक्ति नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप थप २ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज