काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा रविसहित ३९ जना विरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूसँग कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस १८ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो ।
राजधानीको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रहरीले १० महिनाको लामो अनुसन्धान गरेको थियो । प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो तर सरकारी वकिल कार्यालयले ३९ जनालाई मात्र प्रतिवेदन बनाएको हो ।
सहकारीमा नक्कली ऋण बनाउने, ठगी गर्ने र संगठित अपराधमा अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा गीतेन्द्रबाबु ९जीबी० राईको हर्बो इन्टरनेसनल प्रालि मा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको छ । त्यस्तै, जीबी ग्रुप अफ कम्पनी प्रालि, कुमकुम हर्बल इन्डस्ट्रिज र देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म जस्ता कम्पनीहरूमार्फत ठूलो मात्रामा रकम हिनामिना भएको बताइएको छ ।
अनुसन्धानका क्रममा कार्तिक महिनामा लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप(समिति सदस्य कमल लामासहित पाँच जनालाई पक्राउ गरिएको थियो । रवि लामिछाने र पूर्व डीआईजी जोशी हाल हिरासतमा छन् भने कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा राखी अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले रकम अपचलनसँग सम्बन्धित कागजात, सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, र साधारणसभाको निर्णयको अध्ययन गरेको थियो ।