पोखरा। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रमुख आरोपी तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार समाप्त भएको छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिज राईको इजलासले आजै आदेश दिने अपेक्षा गरिएको छ।
बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए। सरकारी वकिलहरूले लामिछानेसहित अन्य प्रतिवादीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए।
लामिछानेले बिहीबार इजलासमा आफूलाई तारेखमा छोड्न आग्रह गर्दै सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले अनुसन्धानको क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हिरासतको सट्टा तारेखको व्यवस्था गरिनुपर्ने माग गरेका हुन्।
पुस १६ गतेदेखि सुरू भएको थुनछेक बहसमा सहकारी पीडितका तर्फबाट कानून व्यवसायीहरूले बुधबार आफ्नो तर्क राखेका थिए। लामिछानेसहितका सात प्रतिवादीहरूमाथि सहकारीको रकम अपचलन, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ।
सूर्यदर्शन सहकारीको अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। तीमध्ये १९ जनाविरुद्ध संगठित अपराध र ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग पनि थपिएको छ।
रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनालजस्ता प्रतिवादीहरू अहिले न्यायालयको आदेशको प्रतीक्षामा छन्। लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए।
अदालतको आदेशले लामिछानेसहितका प्रतिवादीहरूको आगामी कानुनी स्थिति निर्धारण गर्नेछ।