काठमाडौं । मन्त्रिपरिषद्ले सिफारिस गरेर पनि राष्ट्रपति कार्यालयमा रोकिएको भूमिसम्बन्धी अध्यादेश आज जारी हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा भएको कार्यक्रममा बोल्दै भूमिसम्बन्धी अध्यादेश बुधबार नै जारी हुने दाबी गरेका हुन्।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले भूमिसहित पाँच अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच मध्ये चारवटा मात्रै अध्यादेश जारी गरेका थिए। राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अध्ययनका क्रममा रहेको भन्दै जारी नभएको जनाएको थियो ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा भएका केही व्यवस्था बारे राष्ट्रपतिले संवेदनशिल रहेको भन्दै चासो राखेका छन् । सुकुमवासीसँग सम्बन्धित विषय, अध्यादेशमा रहेको सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपूर्जासहित उपलब्ध गराउने व्यवस्था र रियल ईस्टेट तथा घरजग्गा व्यवसायीले कम्पनीहरूले हदबन्दी भन्दा बढीको जग्गा राख्न पाउने तथा यसअघि त्यस्तो जग्गा भएका कारण जग्गा बेच्न नपाएकोमा त्यो बिक्री पनि गर्न दिने व्यवस्था लगायतका कुरामा राष्ट्रपतिको ध्यानाकर्षण भएको जनाएको थियो।