काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठुला ठुला भ्रष्टाचारका विषयलाई छाडेर श्रमदान अभियानको खेदो नखन्न भन्दै जवाफ पठाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीमा खानेपानी आयोजना निर्माणका क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि माघ २ गते पत्र पठाएको थियो । मेयर राईले उक्त पत्रको जवाफ पठाएका हुन ।
पत्रमा उनले लेखेका छन्, धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले आफ्नो नगरवासीहरूलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने उल्लेख गरेका छन् ।
नगरवासीहरूलाई सुलभ तरिकाले अटुट रूपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य रहेको भन्दै मेयर राईले केन्द्र सरकारलाई कोसीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले थोत्रे गाग्री लिएर सिंहदरबार पुगेको भन्दै व्यांग समेत गरेका छन् । उनले जनतालाई पानी चाहिएकोले केन्द्र सरकारबाट तत्काल कोसीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रम योजना २ चलिरहेको बताएका छन् ।
उनले अख्तियारलाई मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउनु भन्दै उजुरी हाल्ने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गन्यो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले अख्तियारलाई राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर, एनसेल र वाइड बडी जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु भन्दै तिर्खाएका मानिसहरूको श्राप लाग्ला है भनेका छन्।