काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका वा सञ्चालन गर्न इच्छुक सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनिवार्य रूपमा दर्ता गर्न निर्देशन जारी गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न आवश्यक नीतिगत व्यवस्था लागू गर्ने जनाएको छ।
यस निर्देशनअनुसार, नेपालमा क्रियाशील वा नयाँ सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपाल सरकारको नियमअनुसार मन्त्रालयमा दर्ता गर्नुपर्नेछ र सम्पर्क विन्दु (Point of Contact) तोक्नुपर्नेछ। यस नीतिको पालना नगर्ने प्लेटफर्महरूलाई नेपालमा सञ्चालनमा प्रतिबन्ध लगाउने चेतावनी समेत सरकारले दिएको छ।
सरकारले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, अनलाइन ठगी, साइबर अपराध तथा अन्य अनैतिक गतिविधि नियन्त्रण गर्न नयाँ नियम लागू गर्न लागेको जनाएको छ। साथै, फिल्टरिङ प्रणालीमार्फत नियमन गर्ने, डिजिटल साक्षरताको प्रवर्द्धन गर्ने, तथा साइबर सुरक्षालाई थप मजबुत बनाउने सरकारको योजना छ।
नेपालका संघीय, प्रदेश र स्थानीय तहहरूले सामाजिक सञ्जालको प्रयोग गर्दा तोकिएको नियमअनुसार अघि बढ्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, सरकारले नागरिकको स्वतन्त्र अभिव्यक्ति प्रभावित नहुने तर अनियन्त्रित सामग्री रोक्न प्रभावकारी नीति अवलम्बन गरिने उल्लेख गरेको छ।
सरकारको यो नयाँ नीति लागू भएपछि नेपालमा सामाजिक सञ्जालको उत्तरदायी, पारदर्शी र सुरक्षित प्रयोग सुनिश्चित हुने सरकारको विश्वास रहेको छ।