काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनका लागि नेपाली विद्यार्थीलाई जारी गरिने एनओसी (विदेशी अध्ययन अनुमतिपत्र) रोक्ने चेतावनी दिएको छ। ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि सिर्जित अवस्थालाई लिएर मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यदि यस घटनाको न्यायपूर्ण र वैधानिक समाधान नभइ भविष्यमा अन्यायपूर्ण व्यवहार जारी रह्यो भने, ओडिसाका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि एनओसी जारी नगर्ने कदम उठाइने जनाएको छ ।
विज्ञप्तिमा उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्युपछि, विश्वविद्यालय प्रशासनको व्यवहारप्रति चिन्ता व्यक्त गरिएको छ । मन्त्रालयले विद्यार्थीहरूको हक र अधिकारको रक्षा गर्न कडा कदम चाल्ने चेतावनी दिएको हो।
विज्ञप्तिमा थप भनिएको छ विश्वविद्यालयले निर्धारण गरेका नियमहरू पालना गर्दै शुल्क बुझाएर पढ्न पाउने मापदण्ड विपरीत, विद्यार्थीहरूसँग गरिएको व्यवहार निन्दनीय रहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताएका छन्।
शिक्षा मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो। यस घटनापछि भारतीय सरकारसँग विद्यार्थिहरूको पठनपाठन पुनः सुचारु गर्न र कुनै प्रकारको खलल नगर्ने व्यवस्था मिलाउन पनि पहल गरिएको छ। मन्त्रालयले विद्यार्थीहरूको अध्ययनमा कुनै अवरोध नहोस् भन्ने सुनिश्चितता प्रदान गर्न कूटनीतिक प्रयास जारी राखेको र प्रभावित विद्यार्थी र अभिभावकलाई सहजीकरण तथा सहायता प्रदान गर्न सहायता कक्ष स्थापना गरेको छ।