काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न अवस्थाका बारेमा छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
प्रदेश सरकारबाट गठन गरिएको उक्त समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव, र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने उल्लेख छ ।
कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार अपराह्न होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनबारे छानबिनको माग गर्दै विद्यार्थीहरुले विरोध गरेपछि कलेजमा विद्यार्थीमाथि व्यापक बल र दुर्व्यवहार गरिएको थियो । समितिले यसबारे छानबिन गरि कानुन अनुसार कारबाही गर्ने जनाएको छ । समितिको गठनबारे कलेजलाई पनि जानकारी गराइएको र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र दूव्र्यवाहार गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उक्त घटनापछि करिव १४ सय नेपाली विद्यार्थीहरु कलेजको होस्टेल छाड्न बाध्य बनाइएका थिए ।