काठमाडौं । भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निर्णय सरकारले गरेको छ । नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने गरी मन्त्रिपरिषदले मंगलबार साँझ निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकमा बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई सूक्ष्म निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको हो ।
गएराति अबेरसम्म चलेको मन्त्रिपरिषद बैठकमा ओडिसा घटनाबारे लामो समय छलफल भएको थियोे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराएका थिए । र, समस्या समाधानउन्मुख भएको बताएका थिए ।
हिजोको क्याबिनेटमा ओडिसाको घटनाबारे लामो छलफल भयो, प्रधानमन्त्रीले चासोपूर्वक लिनुभयो र परराष्ट्रमन्त्रीले पनि यसबारे भएको पहलबारे जानकारी दिनुभयो,’ एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार बैठकमा ओडिसा घटनाबारे ठोस निर्णय त भएको छैन तर नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निष्कर्ष निकालिएको थियो ।
बैठकमा प्रधानमन्त्रीले प्रकृति लम्सालको मृत्युका सम्बन्धमा अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि आवश्यक कदम चाल्न ठीक हुने बताएका थिए ।
ओडिसाको भुवनेश्वरस्थित कलेजमा बीटेक तेस्रो वर्षमा अध्ययन गर्ने रूपन्देही स्थायी घर भएकी लम्साल आइतबार होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सो घटना छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुमाथि कुटपिट गर्दै कलेज प्रशासनले निस्कासन गरेपछि स्थिति तनावपूर्ण भएको थियो ।
नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरेको थियो ।
एक मन्त्रीका अनुसार लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिएकी थिइन् ।
उनले दिल्लीस्थित दूतावासबाट दुई जनाको टोलीलाई घटनाबारे यथार्थ जानकारी लिन ओडिसा पठाएको र राजदूत शंकर शर्माले कलेजका सञ्चालक लगायतसँग बुझ्ने काम गरिरहेको बताइन् । त्यसैले उनले अनुसन्धान प्रतिवेदन आएपछि थप कदम बढाउन ठीक हुने भन्दै तत्कालका लागि नेपाली विद्यार्थीको सुरक्षा र पढाइको वातावरण बनाउन प्रयास भइरहेको जानकारी गराएकी थिइन् ।
यसैगरी शिक्षा मन्त्री विद्या भट्टराईले ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको जानकारी गराएकी थिइन् ।
आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययनरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढानछोप गर्न खोजेको थियो ।
त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले कुटपिट र दुर्व्यवहार गरेका थिए । कतिपयलाई कुटपिट गर्दै रेलवे स्टेसनतर्फ लखेटिएको गुनासो विद्यार्थीले गरेका छन् ।
कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।