Elina Diyali । NIMJN
ताप्लेजुङ, सिरिजङ्गा गाउँपालिका–३ सिकैँचाकी निशा राईको असार ५, २०८० मा मृत्यु भयो । तर, उनको मृत्यु प्राकृतिक थिएन । अप्राकृतिक थियो । ३१ वर्षीया निशाको हत्या भएको थियो । हत्यारामा उनकै श्रीमान् लक्ष्मण राईको संलग्नता रहेको प्रहरीको दाबी छ । निशाका दुई छोराछोरी छन् ।
निशा र लक्ष्मण काम गर्थे । दुवैको कमाइले जसोतसो चार जनाको परिवार पालिएकै थियो । दुःखजिलो गरी जेनतेन जीवन चलिरहेको थियो ।
यही जीवनमा पनि निशाले सन्तोष पाइनन् । असन्तोषको एउटै कारण थियो, लक्ष्मणको शंका गर्ने बानी । उनले निशामाथि परपुरुषसँग बोलेको आरोप लगाउँथे । यही निहुँमा उनीमाथि कुटपिट गर्थे । रक्सीको मातमा गालीगलौज र कुटपिट लक्ष्मणका लागि सामान्य थियो । निशाले पनि सहरै बसिन् । प्रतिकार गरिनन् । सामान्य ठानिन् । तर, उनले सामान्य ठानेको कुरा नै उनको मृत्युको कारण बनिदियो ।
असार ५,२०८० को साँझतिर लक्ष्मणले परपुरुषसँग बोलेको आरोप लाउँदै घरको भान्सामा निशामाथि कुटपिट गरे । उनका संवेदनशील अंगमा प्रहार गरे । श्रीमान्को कुटाइका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
असार ७ मा प्रहरीमा जाहेरी आयो । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा निशाका ३८ वर्षीय श्रीमान् लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लियो । घटनाबारे अनुसन्धान भइरहेको तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक कुशाराम कार्कीले जानकारी दिएका थिए ।
“यसरी हिंसा सहेर बस्दा, हिंसा लुकाएर बस्दा र प्रहरीसमक्ष नपुग्दा, बोल्न नसक्दा, शारीरिक र मानसिक यातना सहँदा हत्याका घटना हुने गरेका छन्,” प्रहरी नायब निरीक्षक कार्कीले भनेका थिए, “निशाले समयमै प्रतिकार गरेको भए, सहेर बस्नुभन्दा प्रहरीसमक्ष कुरा पुर्याएको भए यस्तो पीडादायी घटना हुन्थेन ।”
आमाको हत्याको आरोपमा बुबा पक्राउ पर्दा छोराछोरीको भविष्य अन्योलमा परेको छ । अब उनीहरूको साथमा न आमा रहिन्, न बुबा नै साथ रहन सक्छन् ।
०००
आठराई, त्रिवेणी गाउँपालिका–३ फूलबारीकी ४३ वर्षीया विष्णुकुमारी लिम्बूको ज्यान उनका श्रीमान् र छोराले लिएको भन्दै प्रहरीले मुद्दा अघि बढाएको छ । जीवनभर साथ दिन्छु भनेर विवाह गर्ने श्रीमान् र आफूले जन्माएको छोराले नै एक दिन आफ्नो हत्या गर्न सक्ने कल्पनासमेत विष्णुकुमारीले गरेकी थिइनन् होला ।
एक दिन आफ्नै कोख भारी होला भनेर उनले सोचेकै थिइनन् होला । तर, उनले कहिल्यै नचिताएको भयो । श्रीमान् र छोरा अर्थात् आफ्नै मान्छे उनका हत्यारा बने । ४६ वर्षीय श्रीमान् दिव्यराज याक्सो लिम्बू र २१ वर्षीय छोरा मनोज याक्सो लिम्बूले घरायसी विवादमा विष्णुकुमारीमाथि कुटपिट गरे । उनीहरूको कुटपिटबाट असोज २७, २०७९ मा विष्णुकुमारीको मृत्यु भयो ।
हत्याको आरोपमा बाबु–छोराविरुद्ध असोज ३० गते प्रहरीमा उजुरी पर्यो । सोही उजुरीको आधारमा प्रहरीले दिव्यराज याक्सो लिम्बू र मनोज याक्सो लिम्बूलाई पक्राउ गर्यो । जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टम गरेर शव मृतकका आफन्तलाई बुझाइयो । ज्यानसम्बन्धी कसुरमा आरोपितविरुद्ध कात्तिक २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरियो । कात्तिक २९ गते आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दियो । उनीहरूलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
सदरमुकाम फुङलिङमा आर्थिक वर्ष २०७९/८० मा दुई जना महिलाको पतिबाट नै हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवाकी निमा डोमा शेर्पा र सोही वडाकी कान्छीमाया लिम्बूको पनि पतिको कुटाइबाट मृत्यु भएको थियो ।
फुङलिङ नगरपालिका–९ हाङदेवा, गाईगुडेकी ५४ वर्षीया कान्छीमाया लिम्बू र उनका ५६ वर्षीय पति बलबहादुर साँवा लिम्बूबीच घरायसी विवाद भयो । नेपाली समाजमा ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो’ भन्ने उखान छ । तर, कान्छीमाया र बलबहादुरको झगडा पराल आगोजस्तो भएन । त्यो आगोले त उनीहरूको घरमात्र जलाएन, कान्छीमायाको ज्यानै लियो । बलबहादुरले गरेको कुटपिटबाट साउन ६,२०७९ को साँझ कान्छीमायाको मृत्यु भयो । उनी सदाका लागि अस्ताइन् । उनको हत्याको आरोपमा प्रहरीले बलबहादुरलाई नियन्त्रणमा लियो । कर्तव्य ज्यान मुद्दामा उनलाई कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, फुङलिङ नगरपालिका–९ की ५४ वर्षीया निमा डोमा शेर्पाको पनि पतिकै कुटाइबाट मृत्यु भयो । श्रीमान्–श्रीमतीबीच पटकपटक हुने झगडा, विवाद र कुटपिटले अन्त्यमा हत्याको रूप लियो । भदौ १५, २०७९ मा घरायसी विवाद हुँदा पनि रक्सीको मातमा पासाङ शेर्पाले निमा डोमामाथि कुटपिट गरे । उनको कुटाइबाट निमाको टाउकोदेखि खुट्टासम्म शरीरभरि चोटपटक लाग्यो । नीलडाम भयो । उनी मरणासन्न अवस्थामा पुगिन् ।
आफन्त र छिमेकीको सहयोगमा उपचारका लागि उनलाई झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगियो । शरीरका संवेदनशील अंगमा गम्भीर चोट लागेका कारण उपचार हुन नसक्ने भन्दै अस्पतालले उनलाई फिर्ता पठाइदियो । अन्य अस्पताल लग्नुको साटो निमा डोमालाई घर ल्याउने कुरा भयो । घर फर्किने क्रममा पाँचथरको पौवा भञ्याङमा भदौ २१ गते उनको निधन भयो । त्यसको जाहेरी प्रहरीमा आयो । प्रहरीले कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गर्यो । पासाङलाई पुर्पक्षका लागि कारागार चलान गरियो ।
सामान्य घरायसी विवादका कारण महिलाहरूले ज्यान गुमाउनुपर्ने यस्ता घटना थुप्रै छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले ‘कसैलाई पनि जाति, वर्ग, लिंग, भाषा, धर्म, राजनीतिक आस्था आदिका आधारमा शोषण, दमन र हिंसा गर्न पाइनेछैन’ भन्ने व्यवस्था गरेको छ ।
नेपालको संविधान, २०७२ को भाग ३ ‘मौलिक हक र कर्तव्य’ अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा १ मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ’ भन्ने कुरा उल्लेख छ ।
त्यस्तै, उपधारा ३ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने यदि गरेमा कानुनबमोजिम दण्डनीय हुनेछ व्यवस्था छ ।
पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने कुरा पनि त्यसमा उल्लेख गरिएको छ । नेपालको संविधानमा कसैले पनि कसैको हत्या गर्न नपाउने उल्लेख भए पनि नेपाली महिलाहरू महिला भएकै कारण आफ्नै श्रीमान् र छोराको कुटपिटबाट मृत्युवरण गर्न बाध्य छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म जिल्लामा एक महिलाको आफ्नै छोराबाट हत्या भएको छ । मैवाखोला गाउँपालिका–४ फाकुम्बाकी ६० वर्षीया धनमाया लिम्बूको उनका ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूले घरायसी विवादमा घरेलु हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा तीन जना महिलाको आफ्नै परिवारबाट हत्या भएको थियो । गत आर्थिक वर्षमा चार जना महिलाले आफ्नै मान्छेबाट मृत्युवरण गरेको प्रहरीको तथ्यांक छ । त्यसैगरी, चालु आर्थिक वर्षको हालसम्म एक महिलाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । महिलाहरूविरुद्ध हिंसा हुँदा अझै पनि उनीहरू ‘आफूमाथि हिंसा भयो’ भनेर उजुरी लिएर नआउने, आए पनि कमै महिला मात्रै आउने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकी महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख बबिता दुलाल महिलाहरू कमैमात्र उजुरी लिएर आउने बताउँछिन् । “कमै महिला मात्रै प्रहरीसमक्ष आइपुग्छन्,” उनी भन्छिन्, “धेरैजसो महिला आफूमाथि हुने हिंसा सहेर बस्छन् । महिलाहरू प्रहरीकहाँ आउने हो भने यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । महिलाहरूको ज्यान जाने अवस्थालाई नियन्त्रण गर्न सकिन्छ ।”
मादक पदार्थ हत्याको मुख्य कारण
ताप्लेजुङ जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा चार जना महिलाको हत्या भएको छ । तीमध्ये तीन महिलाको आफ्नै श्रीमान्ले हत्या गरेका छन् भने एक महिलाको पति र छोराको कुटपिटबाट हत्या भएको हो । घटना हुने कारण विविध भए तापनि मुख्य कारण भने जाँड, रक्सी र अन्य मादक पदार्थको सेवन नै भएको प्रहरीले जनाएको छ ।
हाङदेवाका दुई र सिकैँचामा भएको घटना घरायसी विवादसँगै अत्यधिक मादक पदार्थ सेवनकै कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बू अशिक्षा, चेतनाको कमीका साथसाथै जाँड, रक्सी र अन्य मादक पदार्थको सेवन घटनाको मुख्य कारण रहेको बताउँछन् ।
“महिलाविरुद्ध हुने हिंसासँगै अन्य घटनामा पनि हेर्ने हो भने मुख्य कारण जाँड, रक्सीलगायत मादक पदार्थको अत्यधिक सेवन गर्नु नै रहेको देखिन्छ,” उनी भन्छन्, “हरेक घटनामा विवाद हुन्छ जाँडरक्सीको मातमा झन् रिस उठ्ने र हत्या नै हुने गरी कुटपिट गरिन्छ ।”
महिलाविरुद्ध हुने हिंसा उन्मूलन गर्ने घोषणा सन् १९९३ का अनुसार महिला हिंसा भनेको ‘महिलामाथि गरिने विभिन्न किसिमका शारीरिक, यौनिक, मानसिक एवं हिंसात्मक व्यवहार हुन् र यस्ता व्यवहारभित्र महिलामाथि गरिने कुटपिट, घरभित्रका सबै प्रकारका हिंसा, बालिकामाथि हुने यौन शोषण, दाइजोका नाममा गरिने दुर्व्यवहार, वैवाहिक जीवनभित्रको बलात्कारका साथै विभिन्न किसिमका सामाजिक एवं सांस्कृतिक परम्परा पर्दछन्’ भनी लेखिएको छ ।
नेपालमा लैंगिक समानता र महिलाविरुद्ध हुने घरभित्रका सबै प्रकारका हिंसा नियन्त्रण गर्नका लागि छुट्टै ऐनको रूपमा वैशाख १४,२०६६ देखि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ लागू गरिएको छ ।
तर, धेरैजसो महिला आफूमाथि हिंसा भएको हो कि होइन भन्ने कुरामा अनभिज्ञ हुने र कतिपयलाई त हिंसा भएको भए पनि कहाँ जाने ? के गर्ने ? कानुनमा के व्यवस्था छ ? भन्ने कुरा नै थाहा नहुने प्रहरी नायब उपरीक्षक राजन लिम्बू बताउँछन् ।
“अधिकांश महिला पुरुषमाथि निर्भर हुने भएकाले पनि हिंसा सहेर बस्न बाध्य छन्,” उनी भन्छन्, “महिलाहरू आत्मनिर्भर नभएकाले हिंसा सहेर बस्न बाध्य छन् । असार ५ गते सिकैँचामा भएको घटनामा पनि यही भएको हो । ‘मेरै पति त हो’ भनेर हिंसा सहेर बसिन् । अन्ततः उनको ज्यानै गयो ।”
आफूमाथि कुटपिट हुनासाथ तत्काल प्रहरीलाई खबर गरे दुर्घटनाबाट बच्न सकिने प्रहरी नायब उपरीक्षक लिम्बू बताउँछन् । “कमाउने र मलाई पाल्ने यही हो, मेरै बुढो त हो कुटे पनि सहन्छु, बाहिर सुनाउँदा परिवारको इज्जत जान्छ भन्ने महिलाहरूको सोचले उनीहरू ज्यान गुमाउन बाध्य छन्,” उनी भन्छन् ।
आत्मविश्वासको कमी पनि महिलाविरुद्ध हुने हिंसाको प्रमुख कारण रहेको इन्सेक प्रतिनिधि देवराज गुरुङ बताउँछन् । “छोरीलाई नासोको रूपमा हेर्ने, उमेर नपुग्दै उनीहरूको बिहे गरिदिनेजस्ता प्रवृत्तिले महिलाहरूलाई कमजोर बनाउँछ,” उनी भन्छन्, “यसले गर्दा पुरुषलाई हिंसा गर्न सहज हुने र महिलाहरू पनि आफूमाथि हुने हिंसा सहन बाध्य भएका छन् ।”
शिक्षाको कमीसँगै समाजमा पितृसत्तात्मक सोच हाबी भएकाले महिलाविरुद्ध हिंसा हुने गरेको महिला अधिकारकर्मी मीना गुरुङ बताउँछिन् । “मैले भनेको मान्नै पर्छ भन्ने पुरुषको सोच र दबाब महिलामाथि हुन्छ,” उनी भन्छिन्, “पुरुषले महिलाको सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सोचको कमीले पनि हिंसाका घटना हुने गरेका छन् । यस्ता घटना हुन नदिन समाजमा शिक्षा, चेतना र महिला सम्मानमा सबैको ध्यान जानुपर्छ ।”
(This story was originally published in www.nimjn.org -Editor)