काठमाडौं । प्रहरी विधेयक तत्कालै पारित भएर कार्यान्वयनमा आउन नसक्न अवस्था रहेको भएपनि नेपाल प्रहरीले भने आगामी २३ दिनपछि नयाँ प्रहरी महानिरिक्षक (आईजीपी)पाउने भएको छ । नयाा आईजीपी बन्न तीनभाइबीच कडा प्रतिस्पर्धा अर्थात लिगलिग दौड सुरु भएको छ ।
प्रहरी विधेयक संघीय संसद्मा दर्ता हुनुअघि नै पूर्वआईजी तथा सुरक्षाकर्मीहरूले प्रश्न उठाउँदै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । संसद्मा दर्ता भएपछि विधेयकका विषयमा ५२ वटा संशोधन प्रस्ताव पेस भएका छन् । जसका कारण तत्कालै प्रहरी विधेयक पारित भएर कार्यान्वयमा आउने अवस्था देखिँदैन ।
३० वर्षे सेवा अवधि हटाउने प्रस्तावसहित दर्ता भएको उक्त विधेयक तत्काल पास भएर कार्यान्वयनमा आउने अवस्था नहरेसँगै अबको २३ दिनपछि नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी)पाउने पक्कापक्की छ ।
आउँदो ५ चैतमा विद्यमान प्रहरी नियमावलीअनुसार आईजीपी बसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । आईजीपी कुँवरकै ब्याची एआईजीहरू प्रशासन विभागका प्रमुख टेकप्रसाद राई, मानव स्रोत विभागका दुर्गा सिंह, अपरा अनुसन्धान विभागका कुवेर कडायत, कार्य विभागका बुद्धिराज गुरुङ र भर्खरै एआईजी बढुवाका लागि सिफारिस भएका जनक भट्टराई पनि अनिवार्य अवकाशमा जान्छन् ।
यस्तो अवस्थामा ३१औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका तीन अधिकृत मुख्य प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी छन् । उनीहरू तीन जनामध्येबाटै आगामी ५ चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ ।
अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरू अहिले एआईजीमा कार्यरत छन् । २६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।
थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।