काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दीपक खड्काले फेरि २४ घण्टे स्पष्टीकरण माग गरेका छन्। मन्त्री खड्काले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै घिसिङलाई पदबाट हटाउने विषयमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएका हुन्।
यसपटकको पत्रमा नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा सहभागी हुँदा मन्त्रालयको स्वीकृति नलिएको विषयलाई प्रमुख रूपमा उठाइएको छ। साथै, आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्तामा संलग्न भएको, प्राधिकरण सञ्चालनका सन्दर्भमा विभिन्न निर्णयहरू लिएको, आन्तरिक भ्रमण, बिदा, र अन्तर्राष्ट्रिय भ्रमणको विवरणसमेत प्रस्तुत गर्न भनिएको छ।
यसअघि पुस २२ मा मन्त्री खड्काले ९ बुँदे स्पष्टीकरण मागेका थिए, जसको जवाफ घिसिङले पुस २८ मा बुझाएका थिए। तर, सो स्पष्टीकरणलाई चित्तबुझ्दो नभएको भन्दै पुनः प्रश्न उठाइएको हो। यसअघि पनि १५ बुँदे र ६ बुँदे विवरण माग गरिसकेको पृष्ठभूमिमा मन्त्री खड्काको यो पछिल्लो पत्र घिसिङलाई पदबाट हटाउने रणनीतिक तयारीको संकेत हुन सक्छ।