काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति शिक्षा मन्त्रालयले खण्डन गरेको छ । शिक्षा मन्त्रालयले छात्रवृत्तिमा छानिएका विद्यार्थीले अन्तिम समयमा अनलाईनबाट डकुमेन्ट नपठाउँदा कोटा खाली हुन पुगेको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार फेसबुकमा लेखका थिए, ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो एक दुई दिनभित्रै आवेदन दिनुहोला ।’
प्रधानमन्त्री ओलीले उल्लेख गरेको यो विषय चीनको छात्रवृत्तिको हो । तर, प्रधानमन्त्रीले भनेजस्तो पर्याप्त विद्यार्थीको आवेदनै नपरेको भने होइन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेरिटको आधारमा नाम छनोट गरेर परराष्ट्र मन्त्रालय मार्फत पठाए पनि विद्यार्थीले अन्तिम सयममा अनलाइनबाट डकुमेन्ट नपठाएकाले सिट खाली भएको शिक्षा मन्त्रालयले प्रष्टीकरण दिएको छ ।
‘दुई सय विद्यार्थीको आवेदन परेको थियो । मेरिटको आधारमा नाम छनोट गरेर पठाएका थियौं । छनोटमा परेका विद्यार्थीलाई जानकारी पनि गराएको हो । तर उहाँहरूले चीनको नियम अनुसारको प्रक्रियामा सहभागी हुनु भएन’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका उपसचिव सेमन्तराज कोइरालाका अनुसार प्रधानमन्त्रीज्यूले भनेजस्तो आवेदन नै नपरेको भने होइन ।
चीनले ७१ सिटमा छात्रवृत्ति दिएको थियो । गत पुसमा शिक्षा मन्त्रालयले आवेदन माग गरेको थियो ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थी प्रक्रियामा सहभागी नहुँदा अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रिकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आईटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको खाली भएको हो ।