काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेकाे छ।
सरकारसँग बहुमत भएकोले अध्यादेशलाई निर्णयार्थ पेश गर्ने र बहुमतले स्वीकृत गर्ने तयारी छ । यसो हुँदा अध्यायादेशमा प्रतिपक्षले असहमति जनाएपनि बहुमतले पारित हुने छ ।