काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरीहरू सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनबाट यस्तो इजलास सञ्चालन गर्ने भएको हो ।
फागुन २७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न प्राधिकरणको भवनमा इजलास सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा इजलास सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
इजलास सञ्चालनसँगै प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गरिने छ । यसका लागि आवश्यक भौतिक व्यवस्थापनका लागि बैठकले निर्देशन दिएको बताइएको छ ।