काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रियामा हस्तक्षेप भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ।
डिएलए नेपालले विज्ञप्ति जारी गर्दै संस्थाले लोकतान्त्रिक विधि, पद्धति, विधानको सर्वोच्चता तथा संस्थागत स्वायत्तताको मर्मअनुसार नै उम्मेदवार छनौट गर्नुपर्नेमा अन्य प्रक्रियाबाट भएका गतिविधिप्रति दुःख व्यक्त गरेको हो ।
डिएलए नेपालका अनुसार, संस्थाले विधान २०४७ को दफा १७ (२८) बमोजिम उम्मेदवार छनौट समिति गठन गरी नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट गरेको थियो। तर, पछिल्लो समय संस्थाको परम्परा र लोकतान्त्रिक विधि विपरीत उम्मेदवार छनौट प्रक्रियामा अनियमितता र हस्तक्षेप भएको भन्दै संस्थाभित्रै व्यापक विरोध भइरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, डिएलए नेपाल आफैमा एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित र स्वायत्त संस्था हो । यस संस्थाले आफ्नो विधान बमोजिम निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय तथा संस्थाको उद्देश्य र मर्मबमोजिम संस्था सञ्चालन गर्दै आएको छ । यसै क्रममा यही २०८१ चैत्र २३ गते हुन गइरहेको नेपाल बार एशोसिएशनको सत्ताईसौं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यस संस्थाको तर्फबाट उम्मेदवारी छनौट गर्नका लागि संस्थाको विधान २०४७ को दफा १७ को उपदफा २८ बमोजिम उम्मेदवार छनौट समिति गठन गरिएको सर्वविदितै छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, संस्थाको नियमित परम्परा अनुसार नेपाल बार एशोसिएशनमा यस संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार छनौट गर्ने संस्थाको अधिकारभन्दा बाहिर गई विधानको व्यवस्था र लोकतान्त्रिक विधि र पद्धतिभन्दा भिन्न प्रक्रियाबाट उम्मेदवार छनौटका सम्बन्धमा भएका गतिविधिप्रति दुःख व्यक्त गर्दछौं । संस्थालाई मर्यादित र बलियो बनाउँदै लैजान विधि र पद्धतिमा डिएलए नेपाल पूर्ण प्रतिबद्ध छ । विधि र पद्धति विपरीतका कुनै पनि गतिविधिले संस्थालाई यप कमजोर बनाउने हुँदा त्यसतर्फ सबै सचेत र जिम्मेवार हुन सम्पूर्ण सरोकारवालाहरुलाई अपील गर्दछौं
संस्थाले आफ्नो गौरवमय इतिहास र एकतालाई अक्षुण्ण राख्दै वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र नेतृत्वको समूहलाई समर्थन गर्ने निर्णय गरेको छ। यस सन्दर्भमा सम्पूर्ण इकाइ तथा सदस्यहरुलाई मिश्र समूहलाई मतदान, साथ, र सहयोग गर्न आह्वान गरिएको छ।
डिएलए नेपालले विधि र पद्धति विपरीतका गतिविधिहरू संस्थाको कमजोरीका रूपमा देखा पर्ने भन्दै सबै सरोकारवालालाई सचेत र जिम्मेवार बन्न अपील गरेको छ।