काठमाडौं । सर्वोच्च अदालतको आदेशले ऊर्जामन्त्री खड्कालाई छटपटी सुरु भएको छ भने नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई राहत मिलेको छ ।
सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न रोक लगाएको छ । सर्वोच्चको आदेशले कुलमान हटाउन खोजेका खड्कालाई छटपटी भएको छ भने घिसिङलाई भने ऊर्जामन्त्रीको काम सर्वोच्चबाटै अमान्य भनेर अन्तरिम आदेश आउँदा राहत मिलेको छ ।
सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश दिएको हो ।
मन्त्री खड्काले २ मंसिरमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए । न्यायाधीशहरु शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो ।
न्यायिक समितिले निर्क्योल गरेको महसुल मन्त्री खड्काले गठन गरेको समितिले छुट दिनसक्ने भन्दै अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उनले अदालत वा विद्युत नियमन आयोगबाट मात्रै समिति गठन हुनुपर्ने माग राखेका थिए । सर्वोच्च अदालतले अन्तरिम आदेशको विवरण सार्वजनिक गरिसकेको छैन ।