काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिका विषयमा परेको रिटमा सुनुवाई गर्दै नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको छ । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले दायर गरेको रिटमा सर्वाेच्चले नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश गरेको हो ।
डा. संगीता कौशल मिश्राले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आदेश दिएको हो ।
डा. मिश्राको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि दुवैपक्षलाई बोलाएको थियो ।
फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । स्वास्थ्य सचिवमा डा. देवकोटाको नियुक्ति पछि डा. मिश्राले सर्वाेच्मा रिट दायर गरेकी थिइन ।