भक्तपुर । भक्तपुरस्थित भाटभटेनी मन्टेश्वरी स्कुलले आफ्नो ७औँ अभिभावक दिवस तथा ग्य्राजुएशन समारोह भव्य रूपमा सम्पन्न गरेको छ । उक्त विशेष अवसर विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरकारका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यालयले नगर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम नागरिक तयार गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नगर क्षेत्रका उत्कृष्ट निजी विद्यालयहरू मध्ये भाटभटेनी मन्टेश्वरी पनि एक भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट विद्यालयलाई निरन्तर आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसै गरी, कार्यक्रमका विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोम प्रधानले विद्यालयले समयानुकूल शिक्षण प्रणाली अवलम्बन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयले बालबालिकाहरूलाई सिर्जनात्मक, व्यवहारिक तथा आधुनिक शिक्षामा आधारित सिकाइ प्रदान गरिरहेको उल्लेख गर्दै यस प्रकारका शैक्षिक संस्थाहरू स्थानीय स्तरमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न अपरिहार्य रहेको बताउनुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल अनिता कार्कीले आफ्नो मन्तव्य व्यक्त गर्दै सात वर्षको अवधिमा विद्यालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको बताउनुभयो । उहाँले शिक्षालाई सरल, सहज र सबैका लागि उपलब्ध गराउने उद्देश्यले विद्यालयले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै अभिभावक तथा स्थानीय सरकारको निरन्तर सहयोग र समर्थनका लागि धन्यवाद दिनुभयो ।
कार्यक्रम विद्यालयका अध्यक्ष अनिल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, फेसन शो, नाटक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको कलात्मक प्रतिभा झल्कने यस्ता कार्यक्रमहरूले अभिभावक तथा उपस्थित अतिथिहरूलाई मोहित बनाएको थियो ।
उक्त अवसरमा विद्यालयका विद्यार्थीहरूको ग्य्राजुएशन कार्यक्रम समेत सम्पन्न गरिएको थियो । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सामूहिक सहभागितामा सम्पन्न भएको यस कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयको प्रगति तथा शिक्षण पद्धतिको उच्च मूल्याङ्कन गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
हेरौं कार्यक्रमका केही तस्विर: