काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन्। सरकारले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो।
शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। नियुक्तिपत्र प्राप्त गरेसँगै उनले प्राधिकरणको कार्यालयमा आफ्नो जिम्मेवारी सम्हालेका छन्।
३४ वर्षभन्दा बढी अनुभव रहेका शाक्य यसअघि पनि नोभेम्बर २०२० देखि अगस्ट २०२१ सम्म प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। उनी नेतृत्वमा रहँदा ४०० केभी ढल्केवर सवस्टेशन र नेपालभित्र पहिलोपटक २२० केभी ट्रान्समिसन लाइन सञ्चालन भएको थियो।
उनको कार्यकालमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना (४५६ मेगावाट) सञ्चालनमा आएको थियो। साथै, उनले नेपाल विद्युत् प्राधिकरणको विभिन्न विभागहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।