राजावादी आन्दोलनका क्रममा शुक्रवार तीनकुने स्थित एउटा घरमा भएको आगजनीमा सुवाल एल एसोसिएट्स कानुनी फर्म पूर्ण रुपमा जलेको छ । आगजनीका कारण २५ वर्षदेखि सङ्कलन गरिएका महत्त्वपूर्ण दस्ताबेज, मुद्दाका फाइलहरू र कानुनी कागजात जलेर नष्ट भएका छन्। चौथो तलामा अधिवक्ता राज सुवालसहितका कानुन व्यवसायीहरूले सञ्चालनमा ल्याएको फर्म आगलागीमा परेर पूर्वरूपमा ध्वस्त भएको छ।
फर्ममा कार्यरत अधिवक्ताहरू नियमित रूपमा आफ्ना कानुनी सेवाहरू प्रदान गरिरहेका थिए। तर, घटनाको समयमा अधिवक्ता तथा कर्मचारीहरू कार्यालयमा अनुपस्थित थिए। कोही अदालत गएका थिए भने कोही अन्य कामका सिलसिलामा बाहिर थिए। घटनाका समयमा एक अधिवक्ता भक्तपुरमा थिए।
यस कार्यालयमा करिब ६ वर्षदेखि कानुनी सेवा प्रवाह गरिँदै आएको थियो। आगलागीका कारण २५ वर्षदेखि सङ्कलित महत्त्वपूर्ण कागजात, मुद्दाका मिसिल, कानुनी फाइलहरू, किताबहरू तथा कम्प्युटर, प्रिन्टरलगायतका सम्पूर्ण सामग्री नष्ट भएको फर्म सञ्चालक राज सुवालले बताएका छन्। विशेष गरी मुद्दाका पक्षहरूले विश्वास गरेर दिएको महत्त्वपूर्ण कागजातको प्रतिलिपि अन्यत्र कतै नभएकाले क्षतिको परिमाण अझै गम्भीर देखिएको छ।
आगलागीपछि कानुन व्यवसायीहरू घटनास्थल पुगेका थिए। फर्ममा भएका कागजात पूर्ण रूपमा जलिसकेको अवस्था थियो। कार्यालयको नगद सुरक्षित रहेको भए पनि नष्ट भएका दस्ताबेजहरू पुनः प्राप्त गर्न असम्भव प्रायः छ। दशकौँदेखिको मेहनत, सयौँ मुद्दाका फाइलहरू र महत्त्वपूर्ण कागजातहरूको नोक्सानी हुँदा कानुन व्यवसायीहरू निराश छन्।