काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । पछिल्ला बैठकहरूमा प्रतिपक्षी दलको अवरोध जारी रहेकाले आजको बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको मुख्य मागबारे जवाफ दिने तयारी गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । प्रधानमन्त्रीले आजको बैठकको सुरुवातमै यस विषयमा आफ्नो धारणा राख्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
बैठकमा बैकिङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । साथै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । त्यसैगरी, उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रधानमन्त्रीले प्रस्तुत गर्नेछन् ।