काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा भएको दाब िगरेका छन्। प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजाको उक्साहटमा दंगा मच्चिएको आरोप लगाउँदै कानूनी कारबाहीबाट उनी पनि उन्मुक्त नपाउने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीका अनुसार, पूर्वराजा शाहले गत फागुन ७ गते अघि बढ्न साथ देऊ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै विभिन्न ठाउँमा समर्थन कार्यक्रम गर्दै जनतालाई भड्काउने प्रयास गरिएको ओलीको दाबी छ। उनका अनुसार, फागुन २५ मा स्वागत–सवारी आयोजना गरियो। चैत १४ गते समाज अस्थिर बनाउन खोज्ने एक अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा बोलाएर जनकमाण्डर तोकियो र हिंसात्मक गतिविधि गर्न खटाइयो।
तीनकुने घटनाबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले आन्दोलनको नाममा संगठित अपराध गरिएको बताए। उनका अनुसार, भीड नियन्त्रण गर्न खोज्दा प्रहरीले बन्दुक खोस्ने, कुटपिट गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, औषधि कारखाना, सञ्चार गृह, निजी घर र सरकारी भवनमाथि आक्रमण गर्ने कार्य भएको छ।
प्रधानमन्त्री ओलीले घटनामा संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाउने दोहोऱ्याए। उनले भने,फेरि राजा बन्छु, व्यवस्था उल्ट्याउँछु भन्नेले यी घटनाको जवाफ दिनुपर्छ। सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने, डिपार्टमेन्ट स्टोर लुट्ने, मानिसलाई घरभित्रै थुनेर जलाउने कामलाई राज्यले छुट दिन सक्दैन।
प्रधानमन्त्री ओलीले तीनकुने घटनाका योजनाकार पहिचान गर्न सरकार सक्रिय रहेको जनाउँदै दोषीमाथि कडा प्रशासनिक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। उनले थपे, प्रहरीमाथि गाडी दौडाउनेदेखि विमानस्थलमा विस्फोट गराउने सम्मका आपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ।
गृहमन्त्रीले घटनाको विस्तृत विवरण चाँडै संसदमा प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले जनाएका छन्।