काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार प्रतिनिधिसभा सदस्य गीता बस्नेत कानुनी कारबाहीबाट जोगिन बिरामी भएको नाटक गर्दै संसद्बाट बिदा स्वीकृत गराउन सफल भएकी छिन्। संसद्को हिउँदे अधिवेशनभर कुनै बैठकमा उपस्थिति नजनाए पनि उनले सांसदका रूपमा तलब, भत्ता र सेवासुविधा भने निरन्तर लिइरहेकी छन्।
सभामुख देवराज घिमिरेले संसद्मा प्रस्तुत गरेको विवरणअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत २७ वटा बैठकमा अनुपस्थित रहिन्। उनले स्वास्थ्य उपचारका कारण अनुपस्थित भएको भन्दै संसद् सचिवालयलाई जानकारी गराएकी थिइन्। यही आधारमा सभामुखले उनको बिदा स्वीकृत गर्न प्रस्ताव गरे, जुन संसद्ले अनुमोदन गर्यो।
तर, वास्तविकता फरक छ। बस्नेत सहकारी ठगी अभियोगमा प्रहरीको फरार सूचीमा छन्। कानुनी कारबाहीबाट बच्न स्वास्थ्य समस्या देखाउँदै संसद्बाट बिदा स्वीकृत गराएकी बस्नेतले कुनै बैठकमा उपस्थिति नजनाइ तलब-भत्ता भने निरन्तर लिइरहेकी छन्। यो घटनाले संसद्को नैतिकता र कानुनी प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएको छ।