शिक्षक महासंघद्वारा चैत २५ देखि आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले २०८१ चैत २५ गतेदेखि देशभर आम शैक्षिक हड्तालको घोषणा गरेको छ। संघले चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनलाई अझ सशक्त बनाउने उद्देश्यले सम्पूर्ण विद्यालय बन्द गराई काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन शिक्षक–कर्मचारीहरुलाई आह्वान गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, “गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने हाम्रो माग हो। यसका लागि २०८१ माघ २० गतेदेखि सुरु गरिएको आन्दोलन अन्तिम र निर्णायक चरणमा पुगेको छ।”

विज्ञप्तिमा आम शैक्षिक हड्तालको समयमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि शैक्षिक क्रियाकलापमा सहभागी नहुन समेत आग्रह गरिएको छ।

शिक्षक महासंघले देशभरका सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी र शैक्षिक सरोकारवालालाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अनुरोध गर्दै आन्दोलनमा सहभागिता जनाउन विशेष अपिलसमेत गरेको छ।

महासंघको अनुसार, यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी गराउने प्रयासको एक निर्णायक मोर्चा हो, जसले देशको शैक्षिक भविष्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज