काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिसका लागि गठित समिति नयाँ ढंगले काम अघि बढाउने भएको छ। अघिल्लो समितिको प्रक्रियालाई निरन्तरता नदिई यसले सुरुदेखि नै नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
समितिले दुई महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित आयोग अध्यक्ष र सदस्य सिफारिसको प्रक्रिया अघि बढाएको छ। कार्यविधि निर्माणको चरणमा रहेको समितिले मस्यौदामाथि सार्वजनिक राय माग गरिसकेको छ। त्यसपछि पीडितहरूसँग छलफल गर्दै आवेदन संकलनको चरणमा प्रवेश गरिनेछ।
अघिल्लो पटक राजनीतिक सहमतिको अभावमा पदाधिकारी नियुक्ति रोकिएको थियो। यसपटक पनि त्यस्तै समस्या नदोहरिने भन्ने कुनै सुनिश्चितता छैन। न्यायको पर्खाइमा रहेका पीडितहरू निष्पक्ष र जवाफदेही व्यक्तिहरूको छनोट होस् भन्ने अपेक्षामा छन्।
सिफारिस समितिले आवेदन संकलनदेखि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिसम्मको प्रक्रिया पूरा गर्नुपर्नेछ। यसअघि १५६ जनाले आवेदन दिएकामा ३९ जनाको सूची सार्वजनिक गरिएको थियो। तर राजनीतिक सहमतिको अभावमा प्रक्रिया रोकिएको थियो।
सत्यनिरूपण तथा बेपत्ता सम्बन्धी आयोगमा क्रमशः ६० हजार र तीन हजारभन्दा बढी उजुरी परेका छन्। महिला हिंसासम्बन्धी उजुरीका लागि अझ समय दिइने भएकाले उजुरी संख्या थपिने निश्चित छ। यस्तोमा सिफारिस समितिको भूमिका अझ गम्भीर र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।