काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको पछिल्लो मतगणना अनुसार अध्यक्ष पदमा डा. विजयप्रसाद मिश्रले अग्रता लिएका छन्। हालसम्मको प्राप्त मत अनुसार मिश्रले ७०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रमण कुमार श्रेष्ठले ४३४ मत ल्याएका छन्। अन्य उम्मेदवारहरूमध्ये आशिष पौडेलले ६ मत प्राप्त गरेका छन् भने राजु कैतीले ५ र उज्ज्वल घिमिरेले २ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्ष पदका लागि विभिन्न प्रदेशमा भएका मतगणनामा अधिकांश स्थानमा डा. मिश्र निकट उम्मेदवारहरूले अग्रता लिएका छन्। कोसी प्रदेशतर्फ पदम प्रसाद लिम्बुले ७६६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने उनका प्रतिस्पर्धी कर्णबहादुर राईले ३७४ मत प्राप्त गरेका छन्। मधेस प्रदेशमा अजयशंकर झाले ७७० मतसहित अग्रता लिएका छन् भने प्रमोद प्रसादले ३३८ मत पाएका छन्।
बाग्मती प्रदेश अन्तर्गत उपाध्यक्ष पदमा तेजबहादुर रावलले ७४६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डेकेन्द्रप्रसाद सुवेदीले ३७४ मत प्राप्त गरेका छन्। गण्डकी प्रदेशमा भुपेन्द खनालले ७७६ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी सुकदेव गौतमले ३३४ मत पाएका छन्।
लुम्बिनी प्रदेशको उपाध्यक्ष पदमा कृष्णप्रसाद पोख्रेलले ७७९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने तिर्जराज ज्ञवालीले ३३४ मत पाएका छन्। कर्णाली प्रदेशमा विवसकुमार बस्नेतले ७६९ मत प्राप्त गरेका छन् भने धर्मराज न्यौपानेले ३५१ मत ल्याएका छन्। यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्ष पदमा सिद्धाराज ओझाले ७७७ मत ल्याएका छन् भने पदमराज शर्माले ३३९ मत प्राप्त गरेका छन्।
महिला खुलातर्फको उपाध्यक्ष पदमा सरस्वती श्रेष्ठ ७१४ मतसहित अग्रता लिएकी छन् भने दिना श्रेष्ठले ३८१ मत पाएकी छन्।
महासचिव पदतर्फ केदारप्रसाद कोइरालाले ७१२ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन् भने हरि शरण कार्कीले २७ मत प्राप्त गरेका छन्।
हालसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट र बारा जिल्लाको मतगणना सम्पन्न भइसकेको छ। निर्वाचन समितिका अनुसार अब बाँकी रहेका जिल्लाको मतगणना भोलि विहान ८ बजेबाट पुनः सुरु हुनेछ।