काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित २० जनालाई काठमाडौँ जिल्ला अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूलाई तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले मंगलबार पक्राउ परेका आरोपितहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले मिश्र र जबरासहित अन्य आरोपितहरूको विरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेको छ।
अदालतले यसअघि पनि ती व्यक्तिहरूलाई क्रमशः ५ दिन र ६ दिन हिरासतमा राख्नको लागि म्याद थप गरेको थियो। नयाँ म्यादअनुसार, अब उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाइनेछ।