मिश्र नेतृत्वको प्यानलको एकछत्र अग्रता, अध्यक्ष पदमा दोब्बर मतान्तर

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र नेतृत्वको प्यानलले सबैजसो पदमा स्पष्ट अग्रता कायम गरेको छ।

निर्वाचन समितिका अनुसार मंगलबारसम्म काठमाडौँ जिल्ला बार, पाटन उच्च बार र ललितपुर जिल्लाबार बाहेक देशभरका सबै मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। बाँकी रहेका तीन स्थानको मतगणना बुधबार बिहान ८ बजेदेखि सुरु हुने छ।

अध्यक्ष पदमा मिश्रले २ हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ हजार ४२५ मत पाएका छन्। मिश्रले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका हुन्। त्यस्तै, मिश्र प्यानलका महासचिव पदका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार कोइरालाले २ हजार ८६० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले १ हजार २३८ मत पाएका छन्। न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी मानिन्छन्।

मिश्र नेतृत्वको प्यानलले हालसम्मको मत परिणामअनुसार २५ वटै पदमा अग्रता बनाइरहेको छ। प्यानलबाट उपाध्यक्ष पदमा पदमप्रसाद लिम्बू (कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (कर्णाली), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला) अगाडि छन्।

अन्य अग्रता बनाउने उम्मेदवारहरूमा कोषाध्यक्षमा जगतबहादुर कार्की, दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) मा सूर्यकुमार यादव, मधेशी मुस्लिम (खुला) मा रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) मा राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुला) मा मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) मा इन्दिरा आर्चाय, महिला (खुला) मा रञ्जिता कार्की, खुला सदस्यतर्फ किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, र माधव मैनाली छन्।

श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा कर्णबहादुर राई, प्रमोद प्रसाद, डेकेन्द्रप्रसाद सुवेदी, सुकदेव गौतम, तीर्थराज ज्ञवाली, धर्मराज न्यौपाने, पदमराज शर्मा र दिना श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई प्रतिस्पर्धामा छन्।

अन्य सदस्यतर्फ श्रेष्ठ प्यानलबाट रामबहादुर मिजार, सञ्जुकुमारी शाह, देवशरण यादव, निश्चल राई, देवकुमार मोक्तान, कला त्रिताल, सुलोचना बज्राचार्य, कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेन्द्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल उम्मेदवार छन्।

देशभर ३६ मतदान केन्द्रमा शनिबार भएको निर्वाचनमा ९ हजार ९९७ मतदाता मध्ये झण्डै ८० प्रतिशत मत खसेको थियो। काठमाडौँ उपत्यकाको केन्द्रमा मात्रै ६ हजार १०२ मतदाता रहेका थिए, जहाँ ४ हजार ६४३ मत खसेका थिए।

निर्वाचन समितिले बिहीवारसम्म सबै स्थानको मतगणना सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज