मत गणना नसकिँदै नेपाल बार चुनावमा मिश्र नेतृत्वको सम्पूर्ण प्यानलको विजयी सुनिश्चित

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्राडा विजयप्रसाद मिश्र नेतृत्वको प्यानलले ऐतिहासिक अग्रता बनाउँदै सम्पूर्ण प्यानलको जित सुनिश्चित भएको छ।

मिश्रले ४,८९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २,२२९ मतमात्रै ल्याएका छन्। मिश्रको प्यानल २,६६३ मतले अगाडि छ। अब ललितपुर जिल्ला बारको ५६० मत मात्र गणना गर्न बाँकी रहेको बताइएको छ ।

महासचिव पदमा मिश्र समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित सुनिश्चित छ भने कोषाध्यक्षमा अधिवक्ता जगतबहादुर कार्की पनि स्पष्ट अग्रता सहित विजयी हुँदैछन्। मिश्र नेतृत्वको ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी’ प्यानलका २५ जना उम्मेदवारमध्ये सबैले निर्णायक अग्रता बनाएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा ७,९९५ मत खसेका थिए। अन्तिम गणना सकिएपछि निर्वाचन समितिले औपचारिक नतिजा सार्वजनिक गर्नेछ।

यो चुनावमा मिश्र पक्षबाट उपाध्यक्षका उम्मेदवारमा पदमप्रसाद लिम्बू, अजयशंकर झा, तेजबहादुर रावल, भूपेन्द्र खनाल, कृष्णप्रसाद पोखरेल, विवशकुमार बस्नेत, सिद्धराज ओझा र महिलातर्फ सरस्वती श्रेष्ठ रहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज