काठमाडौं । अदालतले फैसला गरेको १२ वर्षपछि सरकारले नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सम्पत्ति जफतको प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्च अदालतको फैसला बमोजिम खड्काको जग्गा जफतको प्रक्रिया अघि बढाएको हो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो ।
खड्काको सानेपामा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रूपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । फैसला बमोजिमको रकम भने असुल उपर भइसकेको छ ।
सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै उनको सम्पत्तिमध्ये मूल्यांकनको समयमा ९४ लाख ७४ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको बताएको थियो ।