काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले बारम्बार चित्त नबुझ्ने फैसला दिँदै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि सर्वोच्च अदालतको ढोका ढकढकाएको छ। साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स सम्बन्धी १२ वटा मुद्दामा विशेष अदालतले दोषी नठहराएका फैसलाविरुद्ध आयोगले बिहीबार सामूहिक रूपमा पुनरावेदन दायर गरेपछि आयोग र विशेष अदालतबीचको दीर्घकालीन टसल फेरि सतहमा आएको छ।
आयोगले नागरिक लगानी कोषका तत्कालीन सञ्चालक छविरमण अधिकारी र साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लसहित अन्य प्रतिवादीहरूविरुद्ध बैंकिङ प्रक्रियाविपरीत ३ करोड ८७ लाख ९४ हजार ७२४ बराबरको कर्जा प्रवाह गरी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले उक्त मुद्दामा २०८० सालको फागुन १० गते फैसला सुनाएको थियो।
त्यस्तै, प्रतिवादी मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले पनि बैंकिङ प्रक्रियाविपरीत ११ लाख ५४ हजार ७०८ बराबरको कर्जा प्रवाह गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो। सो मुद्दामा पनि विशेषले फागुन १० गते नै फैसला सुनाएको थियो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, विशेष अदालतका फैसलाहरू कानुनसम्मत नभएको निष्कर्षमा पुग्दै आयोगले १२ वटा मुद्दामा सामूहिक रूपमा पुनरावेदन दायर गरेको हो।
विशेष अदालत र अख्तियारबीचको असमझदारी नयाँ होइन। विगतमा पनि थुप्रै मुद्दामा विशेष अदालतका फैसलाप्रति आयोगले असन्तुष्टि जनाउँदै सर्वोच्चको बाटो रोज्दै आएको छ। पछिल्ला घटनाक्रमले संवैधानिक निकायहरूबीचको विश्वासको संकट झन् गहिरिँदै गएको संकेत गरेको छ।