काठमाण्डौं । बलात्कार मुद्दामा दोषी ठहर भई कारावासमा रहेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाँचवटा प्रमुख आधार प्रस्तुत गर्दै जिल्ला अदालतको सात वर्ष कैदको फैसला उल्ट्याएको हो।
२०७९ चैत २७ गते राति आफ्नै श्रीमतीमाथि पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसयता उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गर्दै आएका थिए।
तर आइतबार उच्च अदालतको आदेशपछि गिरी सोमबार बिहान १० बजे रिहा भएका छन्। अदालतले उनलाई सफाइ दिन पाँच आधार प्रस्तुत गरेको छः
१. घटनास्थलमा रहेकी बहिनीको बयान नलिइनु:
अदालतले पीडितसँगै सोही डेरामा रहेकी बहिनीको अनुसन्धानका क्रममा बयान नलिएको विषयलाई पहिलो आधार बनाएको छ। घटनाको संवेदनशीलता हेर्दा प्रत्यक्षदर्शी हुन सक्ने व्यक्तिको भनाइ लिनु आवश्यक भए पनि त्यो गरिएको देखिएन।
२. घरधनीको बयानमा झगडाको प्रमाण नदेखिनु:
प्रहरीले मौका मुचुल्का गर्दा घरधनीसँग लिएको बयानमा घटनाको राति गिरी र पीडितबीच झगडा भएको देखिँदैन। अदालतले यसलाई दोस्रो प्रमाणको रूपमा मानेको छ।
३. घटनास्थलमा संघर्षको लक्षण नपाइनु:
घटनास्थलको मुचुल्कामा झैझगडा वा जबरजस्ती भएको कुनै भौतिक प्रमाण, वस्तुस्थिति वा लक्षण नपाइएपछि अदालतले तेस्रो आधार मानेको हो।
४. चिकित्सकीय परीक्षणमा चोटपटक नदेखिनु:
पीडितले यौनाङ्गमा दुखाइ भएको बताए पनि अन्यत्र चोटपटक नभएको चिकित्सकीय परीक्षण रिपोर्ट अदालतले चौथो आधारको रूपमा मानेको छ।
५. प्रयोगशालाको रिपोर्टले सम्बन्ध पुष्टि नगर्नु:
प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट गिरी र पीडितबीच शारीरिक सम्बन्ध भएको कुनै ठोस प्रमाण नपाइएको अदालतको ठहर छ।
यी पाँच आधार प्रस्तुत गर्दै अदालतले गिरीमाथिको अभियोग प्रमाणित नभएको निष्कर्ष निकालेको हो।
अदालतको आदेशमा भनिएको छ, “चैत २७ गते रातिदेखि २८ गते दिउँसोसम्म ८ पटक जबरजस्ती करणी भएको भन्ने जाहेरी तथा अभियोग रहेकोमा २८ गते बिहानको खाना पकाएर साथै खाएको भन्ने जाहेरवालाको बकपत्रबाट प्रस्तुत अभियोग शंका रहित रूपमा स्थापित हुन सकेको देखिँदैन। त्यसैले आरोपितलाई सफाइ दिनुपर्ने…”
गिरी कपिलवस्तुमा कार्यरत रहँदा श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। जाहेरीपछि उनी पक्राउ परेका थिए र न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो।
वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।