काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख तथा चर्चित मधेशवादी अभियन्ता डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीको गम्भीर आरोप लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढिरहेको छ। जाहेरवाला पक्षले लगाएको आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
पीडितको जाहेरी अनुसार, डा. अहिराजले उनलाई १७ वर्षको उमेरदेखि निरन्तर रूपमा शारीरिक तथा मानसिक शोषण गर्दै आएका थिए। ती महिला मधेश मूलकी हुन् र सुरुमा राष्ट्रिय महिला आयोगमा उजुरी लिएर पुगेकी थिइन्। पछि केही महिला अधिकारकर्मीको सहयोगमा उनी जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा गइ जाहेरी दिएकी थिइन्।
जाहेरी गत माघ १० गते दिइएको भए पनि प्रहरीले फागुन ३ गते मात्र औपचारिक रूपमा दर्ता गरेको थियो। सोही उजुरीका आधारमा पीडितको तर्फबाट जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमति माग गरिएको थियो। अदालतको आदेशपछि अहिराजविरुद्ध चार दिनअघि नै पक्राउ पुर्जी जारी भइसकेको पीडित पक्षमा काम गरिरहेकी एक अधिकारकर्मीले जानकारी दिइन्।
तर हालसम्म डा. अहिराज प्रहरी सम्पर्कमा आएका छैनन्। पीडितको परिचय सार्वजनिक गरिएको छैन।