धनगढी विमानस्थल विस्तारमा अनियमितता आरोप : पूर्वमन्त्री प्रेम आलेमाथि अख्तियारको अनुसन्धान सुरु

काठमाडौँ । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोपमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ।

२०८१ चैत ११ गते आयोगमा उजुरी दर्ता भएपछि अख्तियारले छानबिनको प्रक्रिया सुरु गरेको हो। उजुरीमा धनगढी विमानस्थल विस्तारका क्रममा सार्वजनिक बजेटमा अनियमितता भएको दाबी गरिएको छ। सो उजुरीसँगै अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ माग्दै अनुसन्धान अघि बढाएको हो।

आयोगले २०८१ चैत २० गते मन्त्रालयसँग लिखित जवाफ माग्ने निर्णय गरेको थियो। त्यसअनुसार चैत २१ गते मन्त्रालयलाई पत्र पठाइएको छ। मन्त्रालयले सोही दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै उजुरीमा उठाइएका विषयमा सात दिनभित्र स्पष्ट राय, प्रतिक्रिया र सम्बन्धित कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

सूत्रका अनुसार आयोगले अब उपलब्ध हुने कागजात र जानकारीका आधारमा थप अनुसन्धान गर्ने तयारी गरेको छ। पूर्वमन्त्री आलेमाथि भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेका कारण अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज