काठमाडौँ । नेपाल बार एसोसिएसनका नवनियुक्त अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले वकिलहरूको दलीय सदस्यता खारेजीका लागि वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई सर्तसहित प्रस्ताव गरेका छन्।
शनिबार पदभार ग्रहण कार्यक्रममा बोल्दै मिश्रले वकिलहरूलाई राजनीतिबाट अलग गर्न आफू तयार रहेको भन्दै श्रेष्ठलाई खुलेर चुनौती दिएका हुन्। “तपाईं तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ, बार मात्रै सदस्यता होस्,” भन्दै मिश्रले आग्रह गरे।
चुनावी प्रचारमा श्रेष्ठले मिश्रलाई ‘सरकारी उम्मेदवार’ भनेकोप्रति मिश्रले आपत्ति जनाउँदै आफू शुद्ध पेशेवर वकिल भएको स्पष्ट पारे। उनले भने, “बारको एजेन्डामा सबै वकिलका आवाज उठ्छन्, रमनजीका विचारहरू पनि हाम्रा साझा एजेन्डा हुन्।”
बारमा विगतदेखि नै राजनीति हुने गरेको स्मरण गराउँदै मिश्रले आफूहरू पूर्वाग्रही नभएको जिकिर गरे। साथै, बारका विषयमा अन्तरवार्ता नदिई संस्था कमजोर पार्ने काम नगर्न श्रेष्ठलाई आग्रह पनि गरे।
बार एसोसिएसनको वार्षिक साधारण सभा र नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको हो। गत फागुन २२ गते सम्पन्न निर्वाचनमा मिश्र नेतृत्वको प्यानल विजयी भएको थियो।